चेल्सीले प्रिमियर लिग विजेता लिभरपुललाई ३-१ ले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने आशा बलियो बनाएको छ ।
आइतबार स्ट्यामफोर्ड ब्रिजमा एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ११औं मिनेटमा जारेल क्वान्साहले आत्मघाती गोल गरेपछि चेल्सीको अग्रता दोब्बर भयो ।
भर्जिल भान डाइकले खेलको ८५औं मिनेटमा हेडरमार्फत एक गोल फर्काए । तर कोल पाल्मरले इन्ज्युरी समयको छैटौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित निश्चित गरे ।
६३ अंकसहित चेल्सी पाँचौं स्थानमै कायम छ । छैटौं स्थानको नटिङ्घम फरेस्टभन्दा तीन अंकले अघि छ । फरेस्टले सोमवार क्रिस्टल प्यालेससँग खेल्नेछ ।
चेल्सी चौथो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरीमा छ । उनीहरू अर्को साता सेन्ट जेम्स पार्कमा आमनेसामना हुनेछन् ।
लिगअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा म्यानचेस्टर युनाइटेड बेन्टफोर्डसँग ४-३ ले पराजित हुँदा ब्राइटन र न्युक्यासलले तथा वेस्टह्याम र टोटेनहमले समान १-१ को बराबरी खेलेका छन् ।
