नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङले निरन्तरता पाएका छन् ।
एन्फाका महासचिव किरण राईले उनलाई बिहीबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
योसँगै उनले थाइल्यान्डविरूद्वको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटमा नेपाली टोली सम्हाल्ने छन् ।
उनको प्रशिक्षणमा नेपालले वाफ च्याम्पियनसिप, साफ च्याम्पियनसिप र फोर नेशन्स कप खेलेको थियो, जसमा तीनवटै प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।
सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक सुरजकुमार लामा तथा टिम म्यानेजरको रूपमा वृन्दा देवकोटाले पनि आफ्नो जिम्मेवारी निरन्तरता पाएका छन् । त्यस्तै, लक्ष्मी भट्टराई टिमको नयाँ फिजियोथेरेपिस्टको रूपमा नियुक्त भएकी छन् ।
एन्फा महिला टाेलीका लागि प्राे लाइसेन्स प्राप्त प्रशिक्षक ल्याउन तयारीमा छ । यसका लागि आवेदन पनि खुला भइसकेकाे छ ।
