बिभागीय टोली एपिएफले मकवानपुरको हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको खेलमा बिरगंज युथ स्पोर्ट्स एकेडेमीलाई १२-० हराउँदै एपिएफ अन्तिम चारमा प्रवेश गरेको हो ।
पहिलो हाफमा ५ गोल गरेको एपिएफले दोस्रो हाफमा ७ गोल थप्यो । एपिएफको जितमा रश्मि कुमारी घिसिङ एक्लैले ५ गोल गरिन् ।
उनले खेलको २३औं, ४९औं र ६९औं मिनेटमा ह्याट्रिक पूरा गर्दा ७०औं र ७८औं मिनेटमा थप २ गोल गरिन् । यो सँगै रश्मिले गोल्डकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेकी छिन् ।
यस अघि संकटाकी ममता पुनले सिमराको नवजनजागृतीविरुद्धको खेलमा व्यक्तिगत ५ गोल गरेकी थिइन् ।
सोमबारको खेलमा भने १९औं मिनेटमा सरु लिम्बुको गोलमार्फत एपिएफले सुरुवाती अग्रता लिएको थियो । वीरगन्जविरुद्ध हावी भएका एपिएफका खेलाडीहरूले २५औं मिनेटमा अनिता केसी, ३९औं मिनेटमा अनिता बस्नेत, ४५औं मिनेटमा मन्जली योन्जन, ५१औं मिनेटमा सजनी थोकर र ७३औं मिनेटमा सविता रानाले गोल गरे।
खेलको म्यान अफ द म्याच सार्वधिक गोलकर्ता रश्मि घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
एपिएफ सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि चितवन, संकटा र विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोतिगाको सेमिफाइनलमा पुगिसकेका छन् ।
चितवनले आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोलअन्तर र संकटाले बाराको नव जनजागृति युवा क्लबलाई ६–१ को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
प्रतियोगिताको सेमिफाइनलका दुवै खेलहरू मंगलबार हुनेछन् । पहिलो सेमिफाइनल खेलमा बिहान ८ बजे चितवन र नेपाल पुलिस क्बल भिड्दा मंगलबार नै दोस्रो सेमिफाइनलमा दिउँसो ३ः३० बजे संकटा र विभागीय टोली एपिएफ भिड्नेछन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ ।
