इंग्लिस क्लब लिभरपुलका उपकप्तान तथा क्लबका सर्वश्रेष्ठ घरेलु उत्पादनमध्ये एक, ट्रेण्ट अलेक्ज्यान्डर-आर्नोल्डले क्लब छोड्ने निर्णय गरेका छन् ।
क्लबमा २० वर्ष बिताएका र सबै प्रमुख उपाधि जितिसकेका २६ वर्षीय डिफेन्डरले नयाँ चुनौती खोज्ने बताउँदै पुनः सम्झौता नगर्ने निर्णय गरेका हुन् ।
गत मार्चको अन्तर्राष्ट्रिय ब्रेकमा चोटका कारण क्लबमै रहेका आर्नोल्डले लिभरपुलका प्रशिक्षक आर्ने स्लटसँग भेट गरी आफ्नो निर्णय सुनाएका थिए । लिभरपुलले उनलाई राख्न अनेक प्रयास गरे पनि आर्नोल्डको मन अब स्पेनतिर लागिसकेको देखिएको छ ।
हालसम्म रियल मड्रिडसँगको औपचारिक सम्झौता भइनसके पनि प्रायः सबै संकेतहरू उनलाई बर्नाबेउतर्फ लैजान संकेत गर्दै छन् । इंग्ल्यान्डका सहकर्मी जुड बेलिङ्ङ्घमसँग क्लबमा पुनः एकत्रित हुने सम्भावना रहेको बताइएको छ ।
समर्थकहरूमा दुःख, आश्चर्य र क्रोधको मिश्रित भावना देखिएको छ । कतिपयले लिभरपुलका घरेलु खेलाडीले ‘धोका’ दिएको महसुस गरिरहेका छन् भने अन्यले आर्नोल्डको योगदानको कदर गर्दै निर्णय बुझ्ने प्रयास गरिरहेका छन् ।
खासगरी, कुनै ट्रान्सफर शुल्क नपाएर क्लबले उनी गुमाउनु परेकोप्रति समर्थकहरू असन्तुष्ट छन् । १९९९ मा स्टीभ म्याकम्यानम्यानले क्लब छोड्दा देखिएको आक्रोश आर्नोल्डले पनि भोग्नुपर्ने सम्भावना छ ।
भित्रभित्रै भने क्लब र टिममेटहरूले आर्नोल्डको समर्पणको प्रशंसा गरेका छन् । कप्तान भर्जिल भान डाइकले लिसेस्टर सिटीमा निर्णायक गोल गरेपछि उनलाई समर्थकहरू सामु उभ्याउने प्रयास गरे भने प्रशिक्षक स्लटले आर्नोल्डको “क्लबप्रतिको समर्पणमा कुनै शंका नरहेको” बताएका छन् ।
आर्नोल्डले भविष्यमा फेरी समर्थकको हैसियतमा एनफिल्ड फर्किने योजना बनाएका छन् । मुख्य स्ट्यान्डमा रहेको आफ्नो व्यक्तिगत बक्सबाट उनी खेल हेर्ने बताइएको छ ।
