जर्मन बुन्डेस लिगामा डर्टमण्डसँग बराबरी खेल्दा बायर्नको उपाधि आशामा धक्का पुगेको छ । 

यो नतिजासँगै बायर्नले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाउने अवसर गुमाएको छ । शनिबार राती भएको खेलमा बायर्न बोरुसिया डर्टमण्डसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ४८औं मिनेटमा म्याक्सिमिलियन बाइअरले डर्टमुन्डलाई अग्रता दिलाएका थिए । तर, बायर्नका दुई वैकल्पिक खेलाडी सर्ज ग्नाब्री र राफाएल गुएरेइरोले चार मिनेटको अन्तरमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पारेका थिए ।

तर, ७५औं मिनेटमा सेर्हु गुइरासीले प्रहार गरेको बल रिबाउन्डमा फर्किएपछि वाल्डेमार एन्टोनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

२९औं चरणको खेल सकिदा बायर्न अब दोस्रो स्थानको लेभरकुसन भन्दा ६ अंकले अघि छ ।

शनिबार नै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन लेभरकुसनले पनि बराबरी खेलेको छ । युनियन बर्लिनसँग गोलरहित बराबरी गर्दै उसले आगामी सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *