हिरदेश सिंहले नवौं एडीएसएन (एबीलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपाल) च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।

शनिबार गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा चार ह्यान्डीक्यापका साथ खेलेका सिंहले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि आफ्नो नाममा गरे ।

सिंहले दोस्रो स्थानमा रहेका ज्ञानेन्द्र केसीलाई दुई अंकले पछि पारेका थिए । केसीले ३९ अंक हासिल गरेका थिए । विजेता सिंहले पुरस्कारस्वरूप सिंगापुर एयरलाइन्सको प्रायोजनमा काठमाडौं-सिंगापुर-काठमाडौं हवाई टिकट प्राप्त गरे ।

ग्रसतर्फ नोरबु छिरिङ शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै पाँच बर्डी र १३ पारको सहायता सहित ४१ ग्रस अंक जोडेर बेस्ट ग्रसको उपाधि जिते । महिला तर्फ गीत गुरुङले २८ अंक सहित उपाधि जितिन् । उनले निकटतम प्रतिस्पर्धी विपना श्रेष्ठलाई (२५ अंक) पछि पारिन्।

६० वर्षभन्दा माथिका वरिष्ठ खेलाडीबीच मेजर जनरल दमन बहादुर घलेले ३५ अंक जोडेर उपाधि जिते । घले र पूर्ण साक्यबीच समान अंक भएपछि पछिल्ला ६ होलको काउन्टब्याकमार्फत घलेले १० अंक बनाएर जित निकाले भने साक्यले ९ अंक मात्र बनाएका थिए ।

७० वर्षभन्दा माथिका सुपर सीनियरतर्फ भैराजा पाण्डेले ३२ अंक सहित उपाधि हात पारे । पाण्डेले सोही क्रममा स्ट्रेटेस्ट ड्राइभ अवार्ड पनि जिते ।

ब्रिगेडियर जनरल विष्णु बी. कार्कीले ‘क्लोजेस्ट टु द पिन’ पुरस्कार जित्दा धुन्दुल नग्यालले ‘लङ्गेस्ट ड्राइभ’ को उपाधि जिते । वाङ्छेन दोण्डुपले प्रतियोगिताभरि ६ वटा बर्डी बनाएर ‘मोस्ट बर्डिज’ अवार्ड जित्न सफल भए ।

१८ होलमा स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको प्रतियोगितामा ७१ खेलाडीले सहभागिता जनाएका थिए । सिंगापुर एयरलाइन्स, कार्ल्सबर्ग, नबिल बैंक लगायतका प्रायोजकहरूको साथमा आयोजित प्रतियोगिताबाट उठेको रकम एडीएसएनको विविध सामाजिक कार्यका लागि प्रयोग गरिनेछ ।

समापन समारोहमा एडीएसएनका अध्यक्ष रविन्द्रराज पाण्डे, कोषाध्यक्ष तथा पिआर म्यानेजर निर्मला ज्ञवाली, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे, क्लब क्याप्टेन जोसेफ नाथन, गोरखा ब्रुअरी प्रालिका प्रबन्ध निर्देशक अरुण अधिकारी, सिंगापुर एयरलाइन्सका नेपाल प्रमुख मेल्भिन टान लगायतले विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *