डन्डी युनाइटेडविरुद्ध ५–० को जितपछि सेल्टिक एफसीले लगातार चौथो पटक स्कटिस प्रिमियरसिपको उपाधि जितेको छ। रोड्जर्सको टोलीले अझै चार खेल बाँकी रहँदा उपाधि पक्का गर्यो, र अहिले र्‍याङ्गर्ससँग बराबरीमा उभिएका छन्। दुवैले ५५–५५ उपाधि जितेका छन्।

‘द भ्वाइज’ ले आगामी सिजनको युइएफए च्याम्पियन्स लिगको समूह चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन्। उनीहरूले ३४ खेलसम्म लिगमा १०२ गोल गरेका छन्, जसमा डाइजन माइडाले १६ गोल गर्दै शीर्ष गोलकर्ता बन्ने दौडमा अग्रता लिएका छन्। लिगका शीर्ष ६ असिस्ट प्रदायकमध्ये ५ जना सेल्टिकका खेलाडीहरू रहेका छन्, जहाँ एलिस्टेयर जोनस्टन र डाइजन माइडाले दुबैजनाले ९–९ असिस्ट गर्दै गर्दै शीर्ष स्थानमा छन्। आक्रमणमा मात्र होइन, सेल्टिक रक्षात्मक रूपमा पनि बलियो देखिएको छ, जहाँ उनीहरूले लिगमा जम्मा २२ गोल मात्र खाएका छन्, जुन सबैभन्दा कम हो।

यस सिजनको सुरुआतमै सेल्टिकले अनुभवी गोलकिपर कास्पर श्माइकललाई अनुबन्ध गरेका थिए र उनले शानदार प्रदर्शन गर्दै १९ वटा क्लिन सिट राखेका छन्। उनको ७७.३% सेभ प्रतिशत पनि लिगकै सर्वाधिक हो, जसले टोलीको पछिल्लो लाइन बलियो बनाउन ठूलो योगदान दिएको छ।

रोड्जर्स, जसको ‘द हुप्स’ सँगको भविष्य केही समय अघिसम्म अनिश्चित देखिएको थियो, उनले स्वयं पुष्टि गरेका छन् कि उनी सेल्टिकमै रहनेछन्। उनका आफ्नै शब्दमा, “म बिना कुनै शंका भन्न सक्छु: म अर्को वर्ष यहाँ हुनेछु, २००%।”

सेल्टिकले आफ्नो लिग जितभन्दा पहिले नै डिसेम्बरमा हम्पडेन पार्कमा पेनाल्टी सुटआउटपछि आफ्ना कट्टर प्रतिद्वन्द्वी र्‍याङ्गर्सलाई पराजित गर्दै लिग कप जितिसकेको थियो। यससँगै उनीहरूले उपलब्ध तीन घरेलु कपमध्ये दुईमा आफ्नो नाम कोर्न सफल भएका छन्।

सेल्टिक स्कटिस कपको फाइनलमा पनि पुगेका छन्, जुन मे २४ मा एबरडिनविरुद्ध खेलिनेछ। त्यसभन्दा नौ दिन अघि उनीहरू एबरडिनसँग लिगमा पनि भिड्नेछन्। अब लिगका बाँकी चार खेल केवल औपचारिकता जस्तै बनेका छन्, र सेल्टिकले ऐतिहासिक घरेलु ट्रेबल सुरक्षित गर्ने लक्ष्यसहित कप फाइनलअघि आफ्ना मुख्य खेलाडीहरूलाई विश्राम दिने योजना बनाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *