बार्सिलोनाले कोपा डेल रेको उपाधि ३२औं पटक जितेको छ । शनिबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-२ ले पराजित गर्दौ बार्सिलोनाले उपाधि जितेको हो ।

यो जितसँगै बार्सिलोनाले ट्रेबल जित्ने अभियानमा बलियो सुरुआत गरेको छ । खेलको ११६औं मिनेटमा जुल्स कुन्डेले निर्णायक गोल गरे । उनले लुका मोड्रिचको पास छिचोलेर बललाई जाली चुमाए । कुन्डेको गोलपछि बार्सिलोनाले उपाधि पक्का गर्यो ।

ला कार्टुजा स्टेडियममा भएको फाइनलमा पेड्रीले २८औं मिनेटमा गोल गरे । उनले टाढाबाट सुन्दर प्रहार गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर, दोस्रो हाफमा रियल मड्रिड खेलमा फर्कियो ।

७०औं मिनेटमा केलियन एम्बाप्पेले फ्रिकिकमार्फत बराबरी गोल गरे । ७७औं मिनेटमा अरेलियन चुआमेनीले हेडरमार्फत रियललाई २-१ को अग्रता दिलाए ।

८४औं मिनेटमा फेरान टोरेसले गोल गरे । उनको गोलपछि खेल २-२ को बराबरीमा पुग्यो । योसँगै खेल अतिरिक्त समयमा प्रवेश गर्यो । अन्ततः ११६औं मिनेटमा कुन्डेले निर्णायक गोल गर्दै बार्सिलोनालाई जिताए ।

बार्सिलोनाले यस सिजनका तीनै क्लासिकोमा रियललाई हराएको छ । उसले जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा रियललाई ५-२ ले स्तब्ध पारेको थियो ।

यस्तै, बार्सिलोनाले अक्टोबरमा भएको लिग खेलमा रियललाई ४-० ले पराजित गरेको थियो । शनिबार रातिको जितसँगै बार्सिलोनाले आफ्नो कीर्तिमानी ३२औं कोपा डेल रेको उपाधि जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *