इटालियन सिरी ‘ए’ मा युभेन्ट्स बराबरीमा रोकिदा एटलान्टा पराजित भएको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्स एएस रोमासँग १-१ गोलको बराबरीमा रोकिएको हो । रोमाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले ४०औं मिनेटमा म्यानुएल लोकाटेलीको गोलमा सुरुवाती अग्रता बनाएको थियो ।
तर, ४९औं मिनेटमा रोमाका एल्डोर शोमुरोडोभले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि थप गोल नहुँदा दुबै टोलीले एक एक अंंक बाँँडे ।
बराबरीसँगै ३१ खेलमा ५६ अंक जोडेको युभेन्ट्स पाँचौ स्थानमा छ । रोमा समान खेलबाट ५३ अंकसहित सातौ स्थानमा छ ।

अर्को खेलमा एटलान्टा लाजियोसँग १-० ले पराजित भएको छ । एटलान्टाको घरेलु मैदानमा लाजियोलाई जित दिलाउन गुस्ताभ इसाक्सेनले निर्णायक गोल गरे । उनले खेलको ५४औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै ३१ खेलमा ५५ अंंक जोडेको लाजियो छैटौं स्थानमा छ । पराजित एटालान्टा सामान खेलबाट ५८ अंंक सहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको इन्टरको ६८ अंक छ र दोस्रो स्थानको नापोलीको ६४ अंक छ ।
यस्तै, अन्य खेलमा लेसे र भेनजिया तथा टोरिनो र हेलास भेरोनाले समान १-१ को बराबरी खेल्दा इम्पोली र कालियरीले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
