स्पेनीस लिग ला लिगाको उपाधि दौड थप रोमाञ्चक बनेको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडले सेभियामाथि २–१ को रोमाञ्चक जित निकालेपछि शीर्ष स्थानका लागि प्रतिस्पर्धा चर्किएको हो ।

तेस्रो स्थानमा रहेको एट्लेटिकोको जितसँगै शीर्ष तीन टोली—बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडबीचको अंक दूरी घटेको छ ।

हाल बार्सिलोना ६७ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियल मड्रिडसँग ६३ र एट्लेटिको मड्रिडसँग ६० अंक छन् । लिगका आठ खेल बाँकी रहेका अवस्थामा यी तीन टोलीबीचको ‘तीन–चार’ अंकको अन्तरले उपाधि होड खुला बनाएको छ ।

रियल मड्रिडको अप्रत्याशित हार र बार्सिलोनाको बराबरीसँगै एट्लेटिको मड्रिडले पुनः उपाधि होडमा बलियो उपस्थितिको संकेत दिएको हो ।

सेभियाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको सुरुआती दबाबमा परे पनि अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्दै विजयी भएको हो ।

खेलको सातौं मिनेटमै सेभियाले अग्रता लिएको थियो । लुसिएन अगुमेले टाढाबाट गरेको प्रहार एट्लेटिकोका गोलकिपर यान ओब्लाकले रोक्न सकेनन् ।

तर, पहिलो हाफमै लोइक बाडेले कोनोर गालाघरलाई फल गरेपछि एट्लेटिकोले पेनाल्टी पायो । जुलियन आल्भारेजले सहजै गोल गर्दै खेल बराबरीमा ल्याए । यो आल्भारेजको सिजनको १२औं लिग गोल हो ।

खेल बराबरीमा टुंगिने संकेत भइरहेका बेला ९३औं मिनेटमा २१ वर्षीय मिडफिल्डर पाब्लो बारियसले निर्णायक गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे । बारियसका लागि यो सिजनको पहिलो गोल हो ।

अब लिगका बाँकी आठ खेलमा प्रत्येक अंक महत्त्वपूर्ण हुने भएको छ । तीनै शीर्ष टोलीबीचको कडा प्रतिस्पर्धाले ला लिगाको उपाधि दौड आगामी साताहरूमा अझ रोचक बन्ने संकेत देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *