नेपाल सुपर लिग (एनएसएल) २०२५ मा क्वालिफायर वानमा पुगिसकेको ललितपुर सिटी एफसीलाई झापा एफसीले बराबरीमा रोकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा झापाले साबिक विजेता ललितपुर सिटी एफसीलाई १–१ गोलको बराबरीमा रोकेको हो ।
खेलको ५४औं मिनेटमा नवीन लामाले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि नै लाकेन लिम्बू ले झापाका लागि बराबरीमा गोल फर्काए । उनले प्रविन खुलालको पासलाई पोस्टको दिशा दिए ।
यो नितजासँगै ६ खेलमा १२ अंक जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ । जितविहिन बनेको झापाले समान खेलबाट पाँच अंकका साथ छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।
झापा एनएसएल इतिहासमा सबैभन्दा बढी बराबरी खेल्ने टोली बनेको छ । तीन संस्करणमा १५ खेल खेलेको झापाले नौ खेल बराबरीमा सक्काएको छ । झापाले यो संस्करणमा मात्रै पाँच बराबरी खेलेको हो ।
ललितपुरले अब क्वालिफायरमा धनगढी एकफसीको सामना गर्नेछ ।
जारी एनएसएलमा ललितपुर र धनगढी क्वालिफायर वानमा पुगिसकेका छन् । पोखरा थन्डर्स प्ले अफमा पुगिसकेको छ ।
अब भोलि हुने चितवन र धनगढीबीचको खेलले प्ले अफमा पुग्ने चौथो टिमको निर्णय गर्नेछ । चितवन र काठमाडौं मध्ये एक टिम प्ले अफमा पुग्नेछ । भोलि चितवनले धनगढीसँग खेल्नेछ । यो नै लिग चरणको अन्तिम खेल हो ।
