लेवाननी फरवार्ड अहमद हिजाजीले दुई गोल गरेपछि साबिक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा शानदार सुरुवात गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ ले पराजित गरेको हो ।
धनगढीको जितमा हिजालीबाहेक कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले एक गोल थपे । बुटवलका लागि केन्टा हाराले एक गोल फर्काए ।
धनगढीले खेलको छैटौं मिनेटमै हिजाजीको गोलबाट अग्रता लिएको थियो । तर, ३१औं मिनेटमा केन्टा गोल गर्दै बुटवललाई खेलमा फर्काए ।
७५औं मिनेटमा कृतिशरत्नले धनगढीको अग्रता दोब्बर बनाए । इन्जुरी समयको पाँचौं मिनेटमा हिजाजीले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । उनी जारी एनएसएलमा एकै खेलमा २ गोल गर्ने पहिलो खेलाडी समेत बने ।
यस्तै सर्जियो बार्बोजाले इन्जुरी टाएमको नवौँ मिनेटमा गोल गर्दै धनगढीलाई यस सिजनकै ठूलो जित दिलाए ।
धनगढीले पहिलो खेल जित्दै ३ अंक जोडेर लिग सुरुवात गर्दा बुटवल भने लगातार दुई खेलमा जितविहीन बनेको छ ।
