एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

एट्लेटिको म्याड्रिडलाई बुधवार १-० ले पराजित गर्दै बार्सिलोनाले चार सिजनपछि पहिलो पटक कोपा डेल रे फाइनलमा स्थान बनाएको हो । यो नतिजाले कोपा डेल रेको फाइनल रियल म्याड्रिडविरुद्ध’ एल क्लासिको’ तय भएको छ ।

फेरान टोरेसले पहिलो हाफमा विजयी गोल गरे। त्यसले क्याटालान क्लबलाई समग्रमा ५-४ ले अघि रहँदै उपाधि नजिक पुगेको छ । फेब्रुअरीमा बार्सिलोनाको मैदानमा भएको पहिलो लेग ४-४ को बराबरीमा सकिएको थियो ।

टोरेसले २७औं मिनेटमा लामिन यामालको उत्कृष्ट ध्रु बललाई सदुपयोग गर्दै पेनाल्टी एरिया भित्रबाट गोल गरे । त्यही गोलले बार्सिलोनाको अन्तिम दुईको यात्रा तय भयो ।

एट्लेटिकोका स्ट्राइकर अलेक्जान्डर सर्लोथले ६९औं मिनेटमा अफसाइडका कारण गोल मान्यता पाएन । डिएगो सिमियोनको टोलीले पहिलो लेगमा २-० को अग्रता गुमाएपछि अन्त्यतिर दुई गोल गर्दै ४-४ को बराबरी निकालेको थियो ।

रियलले मंगलबार अतिरिक्त समयमा रियल सोसिडाडलाई हराउँदै समग्रमा ५-४ को अग्रतासहित फाइनलमा स्थान बनाएको थियो ।

यी चिर-प्रतिद्वन्द्वी कोपा फाइनलमा २०१३-१४ सिजनपछि पहिलो पटक आमनेसामने हुने भएका छन् । त्यति बेला रियल उपाधि जितेको थियो ।

गत महिनाको च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलसँग पेनाल्टी सुटआउटमा मा पराजित भएपछि एट्लेटिकोलाई अर्को निराशाजनक हार बेहोर्नु पर्यो ।

३१ उपाधिसहित कोपाको सबैभन्दा सफल क्लब बार्सिलोना २०२१ पछि पहिलो पटक फाइनलमा पुगेको हो । त्यतिबेला उसले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको थियो।

रियल पछिल्लो तीन सिजनमा दोस्रो पटक फाइनलमा पुगेको हो । २०२३ मा ओसासुनालाई पराजित गर्दै आफ्नो २०औं उपाधि जितेको थियो ।

सेभिलमा अप्रिल २६ मा हुने फाइनल यो सिजनको तेस्रो ‘एल क्लासिको’ हुनेछ । बार्सिलोनाले रियललाई अक्टोबरमा स्पेनिस लिगमा ४-० र जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा ५-२ ले हराएको थियो ।

यी दुई टोली यो सिजन च्याम्पियन्स लिगमा पनि आमनेसामने हुने सम्भावना पनि यथावत छ । एट्लेटिको सन् २०१३ पछि पहिलो पटक कोपा फाइनलमा स्थान बनाउने प्रयासमा थियो । त्यति बेला रियललाई हराएर आफ्नो १०औं उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *