इंग्लिस प्रिमियर लिगमा शनिवार आर्सनल बराबरीमा रोकिएपछि लिभरपुलको उपाधि यात्रा थप सहज बनेको छ ।
आर्सनललाई ब्रेन्टफोर्डले १-१ को बराबरीमा रोकेको थियो । घरेलु मैदानमा थोमस पार्टीले ६१औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा योआन विस्साले बराबरी गोल गरेका थिए ।
च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई ३-० ले हराएको ४ दिनपछि आर्सेनलले ब्रेन्टफोर्डको कडा चुनौतीको सामना गर्नुपरेको थियो ।
आर्सनलले दोस्रो लगातार बराबरीपछि लिभरपुललाई उपाधि जित्न अब ९ अंक भए पुग्नेछ । ३२ खेलमा आर्सनलको ६३ अंक छ ।
आर्सनलको भन्दा १ खेल कम खेलेको लिभरपुलको १० अंक बढी छ । ब्रेन्टफोर्ड क्रिस्टल प्यालेसलाई उछिन्दै लिग तालिकामा ११औं स्थानमा पुगेको छ ।
शनिवार अन्य खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ५-२ ले, एस्टन भिल्लाले साउथ ह्याम्टनलाई ३-० ले, एभर्टनले तेस्रो स्थानको नटिङ्ङ्घम फरेस्टलाई १-० ले हराएको छ । ब्राइटन र लेस्टर सिटीले २-२ को बराबरी खेलका छन् ।
