मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा कसेनी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा मंगलबार भएको चौथो क्वाटरफाइनल खेलमा नवदिप युवा क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै कसेनीले अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो ।

फुर्बा तामाङको गोलमार्फत कसेनीले अग्रता लिएको थियो । तर, कसेनी अन्तिम मिनेटमा सम्हालिन सकेन । इन्जुरी समयमा सन्देश मगरले नवदिपका लागि बराबरी गोल गरे ।

खेलको म्यान अफ दि म्याच कसेनीका गोलरक्षक सुजन लिम्बू घोषित भए । उनले ट्रफीसाहित नगद एक हजार रुपैयाँ प्राप्त गरे ।

अब फाइनल प्रवेशका लागि कसेनीले कालीदह एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार टाँडी स्पोर्टिङ क्लब र हिमालयन फुटबल क्लबकाबीच पहिलो सेमिफाइनल खेल हुनेछ । कालिदह फुटबल क्लबको आयोजनमा जारी प्रतियोगितामा कुल १० टोली सहभागी छन् ।

चैत्र ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ३३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *