यस वर्ष जुलाईमा श्रीलंकामा आयोजना हुने भनिएको साफ च्याम्पियनसिप २०२५ अब २०२६ सम्मका लागि स्थगित गरिएको छ । प्रतियोगिता स्थगित भएपछि सोही समयमा श्रीलंकामा एक अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ ।
साफ कार्यकारी समिति सदस्य अली उमरका अनुसार प्रतियोगिता स्थगित हुनुको मुख्य कारण साफको मार्केटिङ साझेदारले प्रतियोगिता होम एण्ड अवे शैलीमा आयोजना गर्न चाहनु हो । सुरुमा यसै मोडललाई विचार गरिए पनि यसको अवधि दुई महिना भन्दा बढी हुने र खर्च धेरै पर्ने भएकाले त्यो योजना परिवर्तन गरिएको हो ।
पछि श्रीलंकामा प्रतियोगिता गर्ने निर्णय भए पनि, बङ्गलादेशको डेली अब्जर्भरका अनुसार साफको मार्केटिङ साझेदार जर्मन कम्पनी स्पोर्ट्सफाइभले भारत वा बङ्गलादेशमा प्रतियोगिता गर्न सजिलो हुने बताएको छ । किनभने ती देशहरूमा प्रायोजक पाउन सजिलो हुने भएकाले उनीहरू त्यहीँ प्राथमिकता दिइरहेका छन् ।
साफको आर्थिक अवस्था कमजोर भएकाले मार्केटिङ साझेदारको निर्णयमा निर्भर रहनुपरेको बताइएको छ । त्यसैले प्रतियोगिता हाललाई स्थगित गरिएको हो ।
हाल साफ, एसियाली फुटबल महासंघ (एएफसी) र श्रीलंका फुटबल संघबीच मिलेर एक आमन्त्रण प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ । उक्त प्रतियोगिता कस्तो हुनेछ, कुन देशका टोलीहरू सहभागी हुनेछन् भन्ने विवरण अझै सार्वजनिक गरिएको छैन ।
