गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आईपिएल) लगातार चौथो जित निकालेको छ ।

बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले पराजित गर्दै गुजरातले चौथो जित निकालेको हो ।

गुजरातले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १९.२ ओभरमा १५९ रनमा अलआउट भयो । शिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाएपनि पर्याप्त हुन सकेन । कप्तान सन्जु सामसनले ४१ रन बनाए ।

गुजरातका लागि प्रसिद कृष्णाले ३, आरु साइ किशोर र राशिद खानले समान २ तथा मोहम्मद सिराज, अर्शाद खान र कुलवान्त खेजरिलियाले समान १ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २१७ रनको योगफल तयार पारेको थियो ।

गुजरातका साइ सुदर्शनले सर्वाधिक ८२ रन बनाए । ५३ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । जस बटलर र शाहरुख खानले समान ३६ रन बनाउँदा राहुल तेवातिया २४ रनमा अविजित रहे ।

राजस्थानका लागि तुषार देशपाण्डे र महीश थिक्सानाले समान २ तथा जोफ्रा आर्चरले १ विकेट लिए ।

जितसँगै ५ खेलमा ८ अंक जोडेको गुजरात अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । पराजित राजस्थान समान खेलबाट ४ अंकका साथ सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *