यस जुलाईमा श्रीलंकामा आयोजना हुने भनिएको साफ च्याम्पियनसिप अब २०२६ मा मात्र हुने भएको छ। यसको सट्टामा श्रीलंकाले आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।
च्याम्पियनसिप स्थगित गर्ने निर्णय साफको मार्केटिङ साझेदारको चाहनाअनुसार गरिएको साफ कार्यकारी समितिका सदस्य अली उमरले जानकारी दिए । उक्त साझेदारले प्रतियोगिता होम एन्ड अवे मोडेलमा आयोजना गर्न चाहेको बताइएको छ, जुन अहिलेका लागि सम्भव देखिएको छैन ।
सुरुमा साफले प्रतियोगिता यसै वर्ष ‘होम एन्ड अवे’ ढाँचामा गराउने प्रयास गरेको थियो । तर, यसरी आयोजना गर्दा प्रतियोगिता दुई महिनाभन्दा बढी समय लाग्ने भएकाले खर्च अत्यधिक हुने देखिएको थियो । त्यसैले पछि केन्द्रित मोडेलमा अर्थात् एउटै देशमा आयोजना गर्ने निर्णय लिइएको थियो, जसअनुसार श्रीलंकालाई आयोजक तोकिएको थियो ।
तर, बंगलादेशको ‘डेली अब्जर्भर’ पत्रिकाका अनुसार जर्मनीको खेलकुद मार्केटिङ कम्पनी स्पोर्ट्स फाइभ(साफको मार्केटिङ साझेदार) ले प्रतियोगिता यदि केन्द्रित ढाँचामा गरिने हो भने बंगलादेश वा भारतमा गर्न सुझाव दिएको छ । सम्भावित प्रायोजकहरू सजिलै पाउन सकिने आधारमा यस्तो प्रस्ताव गरिएको बताइएको छ ।
साफलाई स्वतन्त्र रूपमा प्रतियोगिता आयोजना गर्न आर्थिक स्रोतको अभाव हुँदै आएको छ । त्यसैले साफको मार्केटिङ साझेदारको स्वार्थअनुसार आयोजक राष्ट्र छनोट हुँदै आएको छ। त्यसैले च्याम्पियनसिप स्थगन गरिएको बताइएको छ ।
अब एसियाली फुटबल महासंघ (एएफसी), साफ, र श्रीलंकन फुटबल महासंघ मिलेर आगामी जुलाईमा एक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ । तर, यसको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
