बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा शानदार जित निकालेको छ ।
बुधवार घरेलु मैदानमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई ४-० ले पराजित गरेको हो । राफिन्हाले च्याम्पियन्स लिगको एउटै सिजनमा गोलमा संलग्नतामा लियोनेल मेस्सीको क्लब कीर्तिमानसँग बराबरी गरे ।
ब्राजिलियन फरवार्ड राफिन्हाले १ गोल र २ एसिस्ट गरेपछि यो सिजन प्रतियोगितामा १९ गोलमा उनको संलग्नता रहेको छ । मेस्सी २०११-१२ सिजनमा पुगेका १९ गोलमा भूमिका निर्वाह गरेका थिए ।
युरोपियन प्रतियोगितामा यो सिजन राफिन्हाको १२औं गोल गरेपछि बार्सिलोना २५औं मिनेटमा अग्रता बनायो । त्यसपछि रोबर्ट लेवान्डोव्स्कीले दोस्रो हाफमा दुई गोल थपे र लामिन यामालले चौथो गोल गर्दै स्पेनिस टोलीलाई सेमिफाइनलको दिशातिर डोर्याए ।
घरेलु टोलीले खेलको सुरुआतमा आक्रामक प्रदर्शन गर्यो । पहिलो सात मिनेटमै तीन पटक गोल गर्ने अवसर बनायो । जसमा यामाल र लेवान्डोव्स्कीको प्रहारलाई डर्टमन्डका गोलकिपर ग्रेगोर कोबेलले उत्कृष्ट बचाउ गरे ।
दोस्रो हाफ सुरु भएको तीन मिनेटमै लेवान्डोव्स्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यामालको क्रसमा राफिन्हाले हेडमार्फत गोलपोस्ट अगाडि पास गरे । त्यसमा लेवान्डोव्स्कीले नजिकबाट सजिलै पूरा गरे।
लेवान्डोव्स्कीले ६६औं मिनेटमा अर्को गोल गरे । क्लबका लागि आफ्नो त्यो ९९औं गोल हो । काउन्टर-अट्याकको क्रममा पहिलो टचमै गोल गरे ।
७७औं मिनेटमा अर्को काउन्टरमा राफिन्हाले यामाललाई पास दिँदै मेस्सीको रेकर्ड बराबरी गरे । यामालले सजिलै गोल पूरा गरे ।
