एफसी चितवनको अपराजित यात्रामा ब्रेक लगाउँदै साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरले चितवनलाई २-१ गोलले पराजित गरेको हो ।
ललितपुरलाई जित दिलाउन इमो एजिकिल र मणि लामाले गोल गरे । चितवनका लागि भिक्टर मानसारेले गोल गरे ।
एजिकिलले खेलको दोस्रो मिनेटमै गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । तर, ७४औं मिनेटमा मानसारेले चितवनका लागि बराबरी गोल फर्काए ।
खेलको ८०औं मिनेटमा मणिले गोल गर्दै ललितपुरलाई २-१ को जित दिलाए ।
लगातार दोस्रो जित निकालेको ललितपुर ४ खेलबाट ८ अंक जोडेर लिगको शीर्षस्थानमा उक्लन सफल भएको हो । पहिलो हार ब्यहोरेको चितवन समान ४ खेलबाट ७ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।
