मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा कालिदह फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा बिहिवार भएको दोस्रो सेमिफाइनलमा खेलमा कसेनी फुटबल क्लबलाई ३-१ ले पराजित गर्दै कालिदह उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको फाइनल खेल चैत्र ३० गते शनिबार हुनेछ । कालिदहले उपाधिका लागि टाँडी स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
टाँडीले हिमालयन फुटबल क्लबलाई हराएर फाइनल पुगिसकेको छ । पहिलो सेमिफाइनलमा हिमालयनलाई १-० ले पराजित गर्दै टाँडी फाइनल प्रवेश गरेको थियो ।
कालिदहलाई फाइनलमा पुराउनका लागि दिपेश मगरले २ तथा सन्दिप लिम्बुले १ गोल गरे । कसेनीका लागि सन्जोक मगरले एक गोल फर्काए ।

खेलका दुई गोलकर्ता दिपेश मगर म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफीसाहित नगद एक हजार रुपैयाँ प्राप्त गरे ।
कालिदह फुटबल क्लबको आयोजनमा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागीता रहेको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित ३३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
