नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले प्रयोग गर्ने होम तथा अवे जर्सीमा लोगो राखेर अनधिकृत रुपमा बजारमा उत्पादन र बिक्री नगर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्देशन दिएको छ ।
एन्फाले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रिय टोलीका खेलाडीले प्रयोग गर्ने जर्सीमा लोगो राखेर अनधिकृत रुपमा बजारमा उत्पादन र बिक्री नगर्न, नगराउन सम्बन्धित सबैलाई निर्देशन दिएको हो ।
‘अनधिकृत रुपमा जर्सीहरु उत्पादन र बिक्री वितरण भइरहेको विवरणहरु संघमा प्राप्त हुन आएकाले विना अनुमति भइरहेका त्यस्ता उत्पादन र बिक्री वितरण कार्यहरु गैरकानुनी भएको हुँदा सो कार्य नगर्न, नगराउन सबैका लागि यो सार्वजनिक सूचना जारी गरिएको हो ।’ एन्फाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै यो सूचनालाई वेवास्ता गर्दै त्यस्ता कार्यहरु निरन्तर भएमा आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायसमक्ष पत्राचार गरिने समेत एन्फाले छ ।

