नेपाली क्रिकेटको आधारभूत (ग्रासरुट) तहलाई बलियो बनाउँदै नयाँ प्रतिभा उजागर गर्ने उद्देश्यले नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले ‘गैंडा कप २०२६’ को घोषणा गरेको छ ।
केवल व्यावसायिक प्रतिस्पर्धामा मात्र सीमित नरहेर तल्लो तहका खेलाडीको भविष्य कोर्न र उनीहरूलाई एक्सपोजर दिलाउन एनपीएल फ्रेन्चाइज आफैं एकेडेमीस्तरको प्रतियोगिता सञ्चालनमा उत्रिएको हो ।
हेटौंडास्थित गौरीटार क्रिकेट मैदानमा सेप्टेम्बर ३० देखि अक्टोबर ३ सम्म सञ्चालन हुने ६ दिने यस प्रतियोगितामा बागमती प्रदेशका प्रमुख १२ क्रिकेट एकेडेमीहरूले प्रतिस्पर्धा गर्नेछन् । ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए), क्रिकेट एक्सिलेन्स सेन्टरका तीन वटा शाखा (भक्तपुर, बालुवाटार र बुढानीलकण्ठ), इस्टर्न, हेटौंडा स्पोट्र्स, मास्टर क्लास, एन्जल्स स्पोट्र्स, काठमाडौं, भक्तपुर, भरतपुर क्रिकेट एकेडेमी र चितवन ट्रेनिङ सेन्टर यस ऐतिहासिक प्रतियोगितामा भिड्नेछन् ।
चितवन राइनोजका अनुसार यो आयोजना केवल जित र हारको होड मात्र नभई नेपाली क्रिकेटको भावी पुस्ता तयार पार्ने, नयाँ प्रतिभा पहिचान गर्ने र उनीहरूलाई व्यावसायिक यात्रातर्फ मोड्ने क्लबको दूरगामी प्रतिबद्धता हो । कुल रु. ६,००,००० पुरस्कार राशि रहेको यस प्रतियोगिताको विजेताले रु. २,००,००० र उपविजेताले रु. ५०,००० नगद प्राप्त गर्नेछन् ।
यसबाहेक उदीयमान खेलाडीको मनोबल बढाउन व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु. १०,०००, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई जनही रु. ५,००० र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई रु. २,००० प्रदान गरिनेछ । मोफसलमा आयोजना हुन लागेको यस प्रतिस्पर्धाले तल्लो तहका युवा क्रिकेटरहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने बलियो मञ्च प्रदान गर्दै समग्र नेपाली क्रिकेटको जग थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

