अर्को साता सुरु हुने छैटौं रवि गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन आयोजक र युके एफसी कर्साङबीच हुने भएको छ ।
आयोजक राइजिङ स्टार क्लब रविले चैत २५ गते सुरु हुने प्रतियोगिताको सोमवार सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो ।
दुर्गा माविको खेल मैदानमा हुने प्रतियोगिताको दोस्रो खेल चैत २६ भाङवारी स्पोर्टिङ युथ क्लब दमक र मोरङको पथरी बीच हुने छ ।
चैत २७ गते लाइटगेट फुटबल क्लब काठमाण्डौंले पाँचथरको आठ कर्ण फुटबल क्लबको सामना गर्नेछ । चैत २८ गते सिरहाको सलहेश युथ क्लबले राइजिङ स्टार स्पोर्टिङ क्लब दार्जिलिङसँग खेल्नेछ ।
चैत २९ र ३० गते सेमिफाइनल तथा बैशाख १ गते फाइनल हुनेछ । हरेक खेलको प्लेयर अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।
८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता ५ वर्षपछि आयोजना हुन लागेको हो । २०७६ मा कोभिडको कारणले छैटौं संस्करण रोकिएको थियो । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट, उदीयमान, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रबद्धक मिक्लाजुङ गाउँपालिका रहेको छ ।
