नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुर क्रिकेटले जितेको छ ।

विराटनगरको मरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको लिग चरणमा उदयपुरले शतप्रतिशत जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

कोशी प्रदेशभरिका ग्रासरुट स्तरका युवा प्रतिभाहरूलाई खोज्ने र व्यावसायिक मञ्च उपलब्ध गराउने उद्देश्यले आयोजित यस प्रतियोगितामा कोशीका पाँच जिल्ला टोलीहरू उदयपुर, मोरङ, झापा, सुनसरी र इलामले राउन्ड-रोबिन लिग फर्म्याटमा प्रतिस्पर्धा गरेका थिए । उदयपुरले प्रतियोगिताका चारवटै खेलमा एकपक्षीय तथा सन्तुलित जित निकाल्न सफल भयो । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट समन्वय देखाएको उदयपुर प्रतियोगिताकै एक मात्र अपराजित टोली रह्यो ।

४ मध्ये ३ खेलमा जित दर्ता गरेको मोरङ उदयपुरसँगको एक खेलमा मात्र पछि पर्दै उपविजेतामा सीमित भयो । झापाले २ जित र २ हारको नतिजासहित तालिकाको तेस्रो स्थान हासिल गर्‍यो । सुनसरीले संघर्षपूर्ण खेल प्रदर्शन गरे पनि ४ खेलमध्ये १ खेलमा मात्र जित निकाल्न सक्यो ।  इलामको टोलीले प्रतियोगितामा कुनै पनि खेलमा जित दर्ता गर्न सकेनन् ।

इलाम तालिकाको पुछारमा रह्यो । उपाधि विजेता उदयपुरका खेलाडी धवन साहनीले प्रतियोगिताभर कुल १४६ रन प्रहार गर्दै सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थान बनाए । उनलाई उदयपुरकै आदित्य बिकले १०२ रन बनाउँदै दोस्रो स्थानमा साथ दिए । उदयपुरको च्याम्पियन यात्रामा यी दुई ब्याटरको योगदान निर्णायक बन्यो । मोरङका बलर अमर यादवले  सर्वाधिक ११ विकेट लिए र प्रतियोगिताकै उत्कृष्ट बलर बने ।

त्यस्तै उदयपुरका नवराज सिग्देलले कसिलो बलिङका साथ ६ विकेट लिँदै दोस्रो स्थान हासिल गरे । यस ‘ड्रिम टु प्ले’ प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरूलाई टोलीको ‘डेभलपमेन्ट स्क्वाड’ मा समावेश गरिनेछ । उनीहरूले राष्ट्रिय टोलीका मार्की खेलाडी सन्दीप लामिछाने लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूसँगै विशेष प्रशिक्षणको अवसर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *