विराटनगर । मोरङको लेटाङ फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
विराटनगरको जुट मिल खेल मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६-३ गोलअन्तरले हराउँदै लेटाङ फाइलनमा पुगेको हो ।
लेटाङको जितमा सौगात राईले दुई तथा विवेक राई, अनुप मगर, सन्दिप मगर र किरण शंकरले समान एक गोल गरे । पेमाका लागि निशान्त राई, रोशन राई र प्रनिश न्यौपानेले समान एक गोल गरे ।
खेलको प्लेयर अफ द म्याच लेटाङका किरण शंकर घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे । अब लेटाङले उपाधिको लागि आइतबार उदयपुर गाइघाटको फ्युजन फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
