ललितनारायण राजवंशीको ६ विकेट लिएपछि साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको छ ।
सोमवार पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा अलआउट भयो ।
सुदूरश्चिमका लागि शेर मल्लले ३२, मिलन बोहराले २३ र टेक रावले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका लागि ललितले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिए । प्रतियोगितामा ललितको लगातार तेस्रो पटक ५ वा त्यो भन्दा बढी विकेट लिएका हुन् ।
यसअघि ललितले एपिएफविरुद्ध ६ तथा मधेशविरुद्ध ५ विकेट लिएका थिए । सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए ।
त्यसअघि सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १६० रनको योगफल तयार पारेको थियो ।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, आरिफ शेखले ४०, सागर ढकालले २२, दिलिप नाथले १० र अमित श्रेष्ठले १८ रन बनाए ।
सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ र हेमन्त धामीले १ विकेट लिए ।
जितसँगै पुलिस खेलेको ५ खेलमा अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा यथावत छ । सुदूरपश्चिम खेलेको ५ मध्ये ४ खेलमा पराजित हुँदै पुछारमा छ ।
