म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो ।
पहिलो लेगमा १-१ को बराबरी भएको थियो । समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ ।
रुबेन अमोरिमको पहिलो वर्षलाई उपाधिसहित सम्झनलायक बनाउने आशा जीवित राख्न जित आवश्यक थियो ।
त्यस्तोमा युनाइटेडका लागि खेलको सुरुआत निकै खराब रह्यो । म्याथिज डि लिटले गल्ती गरेपछि मिकेल ओयारजाबालले १०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।
तर, घरेलु टोलीले ६ मिनेट पछि बराबरी गोल फर्कायो। इगोर जुबेल्डियाले रस्मस होयलुन्डलाई फाउल गरेपछि फर्नान्डेसले पेनाल्टीलाई गोलमा परिणत गरे ।
खेलको तेस्रो पेनाल्टीपछि युनाइटेडले अग्रता लिएको थियो । अरिक एलुस्तोंदोले प्याट्रिक डोर्गुलाई फाउल गरेको निर्णयप्रति असन्तुष्टि जनाए पनि रेफ्रीको निर्णय परिवर्तन भएन । फर्नान्डेसलाई ५०औं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए ।
स्पेनिस टोलीको अन्तिम आशा खेलको दोस्रो हाफमा समाप्त भयो । ६३औं मिनेटमा डोर्गुलाई रोक्न खोज्दा जोन अराम्बुरुले रातो कार्ड पाए ।
युनाइटेडले खेल समाप्त हुनु अघि थप २ गोल गर्दै जित निश्चित गर्यो । फर्नान्डेसले ८७औं मिनेटमा ह्याट्रिक पूरा गरे । डियोगो डालोटले इन्ज्युरी समयमा चौथो गोल गर्दै युनाइटेडको जित पक्का गरे ।

