ब्राजिलका स्टार खेलाडी नेयमारले यो महिना हुने फिफा विश्वकप छनोटका खेल नखेल्ने भएका छन् । ब्राजिलले कोलम्बिया र अर्जेन्टिनाविरुद्ध खेल्दा ३३ वर्षीय नेयमार अनुपस्थित रहनेछन् ।

दक्षिण अमेरिकी छनोटमा ब्राजिल पाँचौं स्थानमा छ । मार्च २० मा ब्राजिलले कोलम्बियालाई आफ्नै मैदानमा स्वागत गर्नेछ । मार्च २५ मा अर्जेन्टिनासँगको खेलका लागि ब्राजिलले ब्युनस आयर्स यात्रा गर्नेछ ।

अक्टोबर २०२३ मा उरुग्वेविरुद्ध खेल्दा एसिएल चोट बोकेको कारण नेयमार लामो समय मैदानबाहिर रहनुपरेको थियो । उनी करिब १७महिनापछि मार्चमा ब्राजिलको टोलीमा फर्किएका थिए ।

शुक्रबार ब्राजिलका मुख्य प्रशिक्षक डोरिभाल जुनियरले ब्राजिल फुटबल महासंघद्वारा प्रकाशित भिडियोमा नेयमार, गोलकिपर एडर्सन र डिफेन्डर डानिलो फिट नभएको पुष्टि गरे ।

नेयमार जनवरीमा सान्तोसमा पुनः फर्किएका थिए । उनले पछिल्लो खेल मार्च २ मा खेलेका थिए । तर, चोट लागेपछि उनी प्रतिस्थापन भएका थिए । त्यसपछि उनले कोरिन्थियन्सविरुद्धको साओ पाउलो राज्य च्याम्पियनसिप सेमिफाइनल खेल गुमाए ।

रियल मड्रिडका युवा स्ट्राइकर एन्ड्रिकलाई नेयमारको स्थानमा टोलीमा बोलाइएको छ । गोलकिपर एडर्सनको स्थानमा लियोनका लुकास पेर्री छनोट भएका छन् भने डिफेन्डर डानिलोलाई फ्लामेङ्गोका एलेक्स स्यान्ड्रोले प्रतिस्थापन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *