अल-नासरले साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे ।
नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल भयो ।
रोनाल्डोले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । डुरानको प्रहार पोस्टमा लागेर फर्किएको बललाई रोनाल्डोले सदुपयोग गर्दै गोल गरे ।
त्यो उनको लिगमा १९औं गोल र खेल जीवनको ९ सय २८औं गोल हो । उनी लिगको शीर्ष गोलकर्ता सूचीमा अब्देर्रजाक हम्दल्लाहभन्दा २ गोलले अघि छन् ।
मानेले २६औं मिनेटमा गोल गर्दै अल-नासरको अग्रता दोब्बर बनाए। रोनाल्डोको सटिक ध्रु पासबाट सालेम अल-नाज्दीले असिस्ट गर्दै मानेलाई गोल गर्न सहयोग गरे ।
४१ औं मिनेटमा डुरानले पेनाल्टी एरिया बाहिरबाट लो शट प्रहारमा गोल गरेपछि टोलीले पहिलो हाफमा ३-० को अग्रता बनायो । अल-खलुदले ७२औं मिनेटमा अली लाजामीको आत्मघाती गोलमार्फत एक गोल फर्कायो ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको अल-नासरको २५ खेलबाट ५१ अंक भएको छ । शीर्षस्थानको अल इत्तिहादको ६१ र एक खेल कम खेलेको अल हिलालको ५४ अंक छ । अल-खलुद ३१ अंकसहित दशौं स्थानमा छ ।
