म्यानचेस्टर सिटीले उपाधिसहित सिजनको समाप्ती गर्ने सम्भावना कायमै राखेको छ।
एफए कप क्वाटरफाइनलमा आइतवार पुनरागमनका साथ बोर्नमाउथलाई २-१ ले हराउँदै सिटी सेमिफाइनलमा पुगेको छ ।
एर्लिङ हालान्डको प्रेरणादायी प्रदर्शनले टोलीलाई पुनरागमन जित दिलाए पनि उनी चोटका कारण मैदानबाट बाहिरिनुपर्यो ।
इभानिल्सनले २१ औं मिनेटमा गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका हालान्डले ४९औं मिनेटमा बराबरी गोल गरे । तर १२ मिनेटपछि बायाँ खुट्टाको घुँडाको चोटका कारण उने मैदान छोडे ।
हालान्डको ठाउँ लिएका ओमार मारमौशले मैदान प्रवेश गरेको दुई मिनेटमै निर्णायक गोल गर्दै सिटीलाई लगातार सातौं पटक एफए कपको सेमिफाइनलमा पुऱ्याए ।
सिटी यो सिजन च्याम्पियन्स लिगबाट बाहिरि सकेको छ। प्रिमियर लिगको पाँचौं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलभन्दा २२ अंकले पछि छ ।
एफए कप जित्दै क्लबले उपाधिसहित सिजनको अन्त्य गर्न सक्छ । यो प्रशिक्षक पेप गोर्डिओलाको कार्यकालमा तेस्रो तथा क्लबको समग्रमा आठौं एफए कप उपाधि हुन सक्छ ।
