एस्टन भिल्ला एफए कपको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा आइतवार प्रिस्टनलाई ३-० ले हराउँदै भिल्ला अन्तिम चारमा पुगेको हो ।

मार्कस रासफोर्डले आफ्नो नयाँ टोली एस्टन भिल्लालाई २०१५ पछि पहिलो पटक एफए कप सेमिफाइनल पुऱ्याउन निर्णायक भूमिका खेले ।

फेब्रुअरी २ मा म्यानचेस्टर युनाइटेडबाट ऋण सम्झौतामा भिल्लामा पुगेका रासफोर्डले यहाँ आफ्नो करिअर पुनः जागृत गरेका छन् । उनले हालैको विश्वकप छनोटमा अल्बानिया र ला‌ट्भियाविरुद्ध इंग्ल्यान्ड टोलीमा पुनरागमन गरेका छन् ।

रासफोर्डले ५८औं मिनेटमा लुकास डिन्येको क्रसमा गोल गर्दै गोलको खाता खोले । ६३औं मिनेटमा मोर्गन रोजर्सलाई फाउल गरेपछि पाएको पेनाल्टी उनले सफलतापूर्वक गोलमा परिणत गरे ।

७१औं मिनेटमा ज्याकोब राम्जीले अर्को गोल थप्दै भिल्लालाई सहज जित दिलाए ।

सन् १९९६ मा इंग्लिस लिग कप जितेपछि कुनै ठूलो उपाधि नजितेको भिल्लाले सात पटक एफए कप जितेको छ । तर अन्तिम पटक १९५७ मा जितेको थियो । २०१५ को एफए कप फाइनलमा आर्सनलसँग ४-० ले पराजित भएको थियो ।

प्रिस्टन क्वाटरफाइनलसम्म पुग्ने एक मात्र गैर-प्रिमियर लिग टोली थियो । टोली १९६५-६६ को सिजनपछि पहिलो पटक एफए कपको अन्तिम आठमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *