विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
पुलिसलाई जित दिलाउन अरुण गाहा र मनिष सेढाईले गोल गरे । खेलको ६६औं मिनेटमा उज्ज्वल राईले बायाँ बार च्यापेर निकालेको क्रस पासलाई अरुण गाहाले हेडरमार्फत आकर्षक गोलमा परिणत गरेका थिए ।
त्यसपछि ८७औं मिनेटमा मनीष सेढाईंले व्यक्तिगत गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
खेलको म्यान अफ दि म्याच पुलिसका मनिष सेढाई घोषित भए । उनले ११ हजार रुपैयाँ प्राप्त गरे । भारत दिल्लीको सुदेवा फुटबल क्लबलाई हराउँदै क्वाटरफाइनलमा पुगेको थियो ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनल शुक्रवार थ्री स्टार र मछिन्द्र फुटबल क्लबबीच हुनेछ ।
प्रतियोगितको विजेतालाई नगद ११ लाख, उपविजेतालाई पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार नगद पुरस्कार दिइने प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।
