यसै साता सुरु हुने पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ ।

पाँचथर क्लबको आयोजनामा फागुन २४ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो ।

फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र पथरी ११ फुटबल क्लब मोरङ प्रतिस्पर्धा हुनेछ ।

ए डिभिजनका ४ क्लबसहित ८ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले ११ लाख १ हजार र दोस्रोले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा फागुन २५ गते चर्च व्वाइज फुटबल क्लब र भारतको हिल्स फुटबल एकेडेमी बीच प्रतिस्पर्धा हुने छ । फाल्गुन २६ गते मच्छिन्द्र फुटबल क्लबले हिमालय शेर्पा क्लब फुटबल क्लबको सामना गर्नेछ ।

फागुन २७ गते सप्तरीको नमोबुद्ध युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्ने छ। फागुन २८ र २९ गते सेमिफाइनल तथा चैत २ गते फाइनल हुनेछ । हरेक खेलको म्यान अफ दी म्याचले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले समान १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *