भारतीय फुटबलर सुनिल क्षेत्रीले भारतको राष्ट्रिय टिममा फर्कने घोषणा गरेका छन् ।
४० वर्षीय क्षेत्रीले गत जेठमा सन्यासको घोषणा गरेका थिए । उनले गएको जुन ६ मा कुवेतविरुद्ध भारतका लागि पछिल्लोपटक खेलेका थिए । त्यसपछि सन्यास लिएका उनले उक्त निर्णय फिर्ता लिएका हुन् ।
सन्यास फिर्ता लिएसँगै सुनिल मार्चमा फिफा विन्डोका दौरान हुने खेलका लागि भारतीय टोलीमा पनि परेका छन् ।
भारतले यस फिफा विन्डोमा एएफसी एसियन कप छनोटको अन्तिम चरणमा बंगलादेशविरुद्ध खेल्दैछ । यो खेल मार्च २५ मा भारतकै सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने तालिका छ ।
भारतीय टिमले एएफसी एसियन कपको गत संस्करणमा स्थान बनाएको थियो । तर, सुनिल क्षेत्रीकै कप्तानीमा उत्रिएको उक्त टोलीले समूह चरणका सबै खेलमा हार बेहोरेका थिए ।
क्षेत्रीले भारतको सिनियर टोलीबाट १५० खेल खेल्दा कुल ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी चौथो नम्बरमा रहेका छन् । क्षेत्रीअघि क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र इरानका अली दाइ छन् ।
सुनिलले चिरपरिचित प्रतिद्वन्दी नेपालविरुद्ध सर्वाधिक ९ गोल गरेका छन् । उनले १२ जुन २००५ मा भारतका लागि डेब्यु गरेका थिए । पहिलो खेलमै उनले गोल समेत गरेका थिए ।
