नेपाली राष्ट्रिय महिला टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेङगाम्प फ्रान्सेली महिला लिगमा बलियो टोली पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा अभान्ट ग्वेङगाम्प पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ६-२ फराकिलो अन्तरले पराजित भएको हो । ग्वेङगाम्पका लागि दुवै गोल साम्बाले गरिन् । उनले ५८औं‌ र मिनेटमा ८८औं गोल गरेकी हुन् ।

२२औं मिनेटमा पहिलो गोल गरको पिएसजीले छैटौं तथा अन्तिम गोल ९०औं मिनेटमा गर्दै फराकिलो जित निकालेको थियो ।

यस सिजन ग्वेङगाम्पको प्रदर्शन निराशाजनक रहँदै आएको छ । अहिलेसम्म १८ खेल खेलेको ग्वेङगाम्पले १७ खेलमा हार बेहोरेको छ भने एक मात्र खेल जित्न सफल भएको छ । खराब प्रदर्शनकै कारण टोली लिग तालिकाको पुछारमा रहेको छ ।

त्यस्तै, पिएसजी भने ४२ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लियोनको ४९ अंक छ ।

ग्वेङगाम्पको हार भए पनि सावित्रा भण्डारी ‘साम्बा’ का लागि खेल व्यक्तिगत रूपमा महत्वपूर्ण रह्यो । नेपाली स्ट्राइकरले शीर्ष टोलीविरुद्ध दुई गोल गर्दै आफूलाई प्रभावशाली खेलाडीको रूपमा पुनः प्रमाणित गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *