नेदरल्याण्ड्सलाई पेनाल्टी शुटआउटमा ५-४ ले पराजित गर्दै साबिक विजेता स्पेन लगातार तेस्रो पटक युईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमवार बिहान भएको दोस्रो लेग ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । समग्रमा ५-५ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
स्पेनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन र जाभी सिमोन्सले गोल गरे । घरेलु टोलीका लागि भने मिकेल ओयार्जाबालले २ तथा युवा खेलाडी लामिन यमलले १ गोल गरे ।
खेलको ८औं मिनेटमा ओयार्जाबालले पेनाल्टी मार्फत गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५४औं नेदरल्यान्ड्सका मेम्फिसले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
६७औं मिनेटमा ओयार्जाबालले दोस्रो गोल गर्दै स्पेनलाई अग्रता दिलाए । त्यसको १२ मिनेट पछि इयान मास्टेनले उत्कृष्ट गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए ।
अतिरिक्त समयको १ सय ३औं मिनेटमा स्पेनका यमलले उत्कृष्ट गोल गर्दै पुनः स्पेनलाई अग्रता दिलाए । ६ मिनेटपछि नेदरल्याण्ड्सका जाभी सिमोन्सले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याए ।
समग्रमा खेल बराबरीमा सकिएपछि निणर्य पेनाल्टी सुटआउट मार्फत भएको थियो । पेनाल्टी सुटआउटमा दुबै टोलीले पहिलो तीन प्रहार गोलमा परिणत गरे ।
त्यसपछि नेदरल्यान्ड्सका नोआ लाङले प्रहार गर्दा बल बारमा लागेर बाहिरियो । नेदरल्याण्ड्सका गोलकिपर बार्ट वेरब्रुग्गेनले यमलको पेनाल्टी बचाए ।
बार्सिलोनाका पेड्रीले निर्णायक पेनाल्टी गोल गर्दै स्पेनलाई जित दिलाए । डोनेल मालेनले पेनाल्टी मिस गरेपछि नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिन पुग्यो।
सेमिफाइनलमा स्पेनले आगामी जुनमा फ्रान्ससँग जर्मनीमा खेल्नेछ । अर्को सेमिफाइनलमा घरेलु टोली जर्मनीले पहिलो संस्करणको विजेता पोर्चुगलसँग खेल्नेछ ।
