चौथो संस्करणको कन्काफ नेसन्स लिगको उपाधिका लागि पनामा र मेक्सिको भिड्ने भएका छन् ।
शुक्रवार भएको सेमिफाइनल खेल जित्दै पनामा र मेक्सिकोले उपाधिका लागि भिड्ने पक्का गरेका हुन् । पनामाले पहिलो सेमिफाइनलमा अमेरिकालाई १-० ले पराजित गरेको हो ।
लगातार ३ पटक च्याम्पियन भएको अमेरिकालाई पराजित गरि पनामा पहिलो पटक फाइनल पुगेको हो । अमेरिकामा भएको खेलमा पनामालाई फाइनल पुर्याउन सेसिलियो वाटरम्यानले गरेको गोल निर्णायक बन्यो । वाटरम्यानले खेलको अन्तिम समयमा गोल गरेका थिए ।
यस्तै, आजै भएको दोस्रो सेमिफाइनल खेलमा क्यानडालाई २-० ले पराजित गर्दै मेक्सिकोले फाइनलमा पुगेको हो । मेक्सिकोले तेस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
अमेरिकामा भएको दोस्रो सेमिफाइनल खेलमा मेक्सिकोलाई जित दिलाउन दुवै गोल राउल जिमेनेजले गरे ।
जिमेनेजले खेलको पहिलो मिनेटमा नै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । ७५औं मिनेटमा मेक्सिकोका लागि अर्को गोल गरे ।
यसअघिको दुवै फाइनलमा मेक्सिको अमेरिकासँग पराजित भएको थियो । प्रतियोगिताको फाइनल खेल सोमवार अमेरिकामा नै हुनेछ ।
सोमवार नै तेस्रो स्थानका लागि अमेरिकाले घरेलु मैदानमा क्यानडाको सामना गर्नेछ ।
