घरेलु टोली नेपाललाई स्तब्ध पार्दै म्यानमारले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल म्यानमारसँग २-० गोलले पराजित भएको हो ।
यससँगै नेपाल पुनः उपविजेतामा सिमित बन्दै उपाधिबाट बन्चित बनेको छ । एक वर्षको अन्तरालमा तेस्रो अन्तर्राष्ट्रिय फाइनल हार बेहोरेको नेपाल समग्रमा १३औं पटक उपाधिबाट विमुख भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा नेपाल म्यानमारलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । तर, दोश्रो हाफमा नेपाल लगातार दुई गोल व्यहोर्दै पराजित हुन पुग्यो ।
खेलको ६२औं मिनेटमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रतामा राखेकी हुन् । लेफ्ट साइड बक्सभित्रबाट खिनले गरेको ‘चिप’ लाई नेपाली टिमकी गोलकिपर एन्जिलाले ठम्याउन सकिनन् । त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो ।
६४औं मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन् । यसपछि थप गोल नहुँदा म्यानमार च्याम्पियन बनेको हो ।
लगभग १६ हजार घरेलु समर्थमाझ भएको फाइनल खेलमा नेपाली टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन र म्यानमारसँग फेरि एकपटक पराजित हुन बाध्य भयो ।
नेपाल र म्यानमार दुवैले लिग चरणमा लेबनान र किर्गिस्तानलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए ।
नेपालले यो प्रतियोगिता महिला एसिया कप र फिफा विश्वकप छनोटको तयारीका लागि आयोजना गरेको हो । आगामी जुनमा नेपालले छनोट खेल्दैछ । छनोटको समूहमा शीर्ष बन्न सके नेपाल एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ ।
