काठमाडौं रेजर्स एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि बेल्जियमका प्याट्रिक डे विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
काठमाडौंले मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत विल्डेलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको जानकारी दिएको छ ।
६० वर्षीय विल्डेले पछिल्लो पटक सोमालिया राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेका थिए । त्यसअघि उनी रुवान्डाको मुख्य प्रशिक्षक थिए ।
यस्तै विल्डेले चीनको यु २३ टिम, अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।
पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्सले रोहन कार्कीलाई मार्की खेलाडीका रूपमा अनुबन्ध छ । यस्तै टोलीले मिनी अक्सनबाट दिपेश गुरुङ, कुलदीप कार्की, अन्जल महर्जन, आशिष चापागाईँ, जिलेस्पिजंग कार्की, अभिषेक बराल, दिनेश हेन्जन, कमल श्रेष्ठ र दिवाकर चौधरीलाई भित्र्याएको छ ।
एनएसएलको तेस्रो संस्करण चैत्र १६ गतेदेखि सुरु हुनेछ ।
