स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनल चरण आजदेखि सुरु हुँदैछ ।
पहिलो सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको मड्रिड आमनेसामने हुनेछन् । खेल बार्सिलोनाको घरेलु मैदानमा नेपाली समयअनुसार बुधबार बिहान २:१५ बजे सुरु हुनेछ ।
यो चरण होम एन्ड अवे नियममा खेलिने भएकाले दुई लेगपछि एग्रिगेटमा जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ । ला लिगामा पनि उपाधि दौडमा रहेका यी दुई टिमबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा छ ।
बार्सिलोना पहिलो लेगमा राम्रो अन्तरको जित निकालेर दबाब कम गर्न चाहन्छ, जबकि एट्लेटिको बार्सिलोनाको मैदानमा जित निकालेर फाइदा लिन खोज्नेछ ।
यी दुई टिमबीच ला लिगामा भएको पछिल्लो खेलमा एट्लेटिकोले बार्सिलोनालाई उसैको मैदानमा २-१ ले हराएको थियो । आजको खेल हुँदा एट्लेटिको बार्सिलोनालाई उसको मैदानमा लगातार दोस्रोपटक हराउने योजनामा छ ।
बार्सिलोनाविरुद्ध आज एट्लेटिको जुलियन अल्भारेज, एन्टोनी ग्रीजम्यान, रोड्रिगो डे पाउल सहितका सबै मुख्य खेलाडी उत्रिनेवाला छन् । आज बार्सिलोनाविरुद्ध एट्लेटिको मड्रिडको जर्सीमा ‘मिनी अर्जेन्टिना’ टिम उत्रिनेवाला छ । किनभने, एट्लेटिकोबाट खेल्ने खेलाडी मध्ये आधा दर्जन अर्जेन्टिनाकै खेलाडी छन् ।
