मकवानपुर । मच्छिन्द्र फुटबल क्लब मकवानपुरमा जारी सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीवार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबलाई १-० गोलले हराउँदै मच्छिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो ।
मच्छिन्द्रको जित खेलको ४३औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टीमार्फत गोल गरे । बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको ४२औं मिनेटमा गोललाइनमा हातले बल रोकेपछी रेफ्रीले पेनाल्टी दिएको थियो । त्यस मौकालाई सदुपयोग गर्दै सुब्बाले गोल गरेको हो ।
खेलको म्यान अफ द म्याच भने मच्छिन्द्रकै शिशिर लेखी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा आयोजकलाई हराउँदै बागमती युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने मच्छिन्द्र वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो । मच्छिन्द्र गत संस्करणको विजेता टोलि हो । गत संस्करणमा एपीएफलाई हराउँदै मच्छिन्द्रले उपाधी हात पारेको थियो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो सेमिफाइनल खेल चर्च व्वाइज युनाइटेड र एपीएफ फुटबल क्लबीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । फाइनल खेल फागुन १२ गतेका दिन हुनेछ ।
