नेपाल र म्यानमार एक खेल अगावै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् ।
बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो । आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो ।
लेबनान र किर्गिस्तान भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएका छन् । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पनि १-० गोलले पराजित गरेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको जितमा सावित्रा भण्डारी साम्बाले निर्णायक गोल गरिन् । उनले खेलको ४२औं मिनेटमा विमलाको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लियर गरेको बललाई सावित्राले बक्स बाहिरबाट हानेको सट फराह इल टयारलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो ।
खेलको प्लेयर अफ दि म्याच पनि निर्णायक गोलकर्ता सावित्रा नै घोषित भइन् ।
अब नेपाल र म्यानमारले आइतबार समूहको अन्तिम खेलमा एकअर्कासँग खेल्ने तालिका छ । खेल साँझ ६ बजे सुरु हुनेछ । सोही दिन दिउँसो २ बजे किर्गिस्तान र लेबनान आमनेसामने हुनेछन् ।
गत फागुन ५ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको फाइनल फागुन १४ गते हुनेछ।
