कोशी प्रदेश प्रिमियर लिगको उपाधि उदयपुरको गाईघाट फुटबल क्लबले जितेको छ ।
बिहीबार धरान रङ्गशालामा भएको समापन खेलमा पाँचथरलाई ११-० को फराकिलो अन्तरले पराजित गर्दै गाईघाट च्याम्पियन बनेको हो ।
लिग च्याम्पियनको उपाधिसँगै गाईघाट राष्ट्रिय लिगको छनोटको लागि हुने अन्तर प्रदेश लिगमा छनोट भएको छ । प्रदेश लिगमा दोस्रो स्थानमा रहेको धनकुटाको देउराली यूथ क्लब पनि अन्तर प्रदेश लिगमा छनोट भएको छ ।
कोशी प्रदेशका ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरू सम्मिलित कोशी प्रदेश प्रिमियर लिगमा ११ जिल्लालाई ४ समूहमा विभाजित गरी समूह चरण र फाइनल चरण गरी खेलाइएको लिगमा उदयपुरको गाईघाट फुटबल क्लब लिग च्याम्पियन बन्न सफल भएको हो ।
फाइनल चरणमा सात अंक प्राप्त गरेको गाईघाट लिग च्याम्पियन हुँदा धनकुटाको देउराली यूथ क्लब ४ अंक सहित दोस्रो तथा समान ४ अंक भए पनि गोल अन्तरको आधारमा खोटाङको बुइपा–११ तेस्रो स्थानमा रहन बाध्य भयो ।
धनकुटाको गोल अन्तर ५ रहेको छ भने बुइपाको गोल अन्तर शून्य रहेको छ । त्यस्तै पाँचथर युनाइटेड क्लब १ अंक सहित चौथो स्थानमा रहन सफल भयो ।
उपाधिसँगै गाईघाटले नगद २ लाख पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको देउरालीले १ लाख ५० हजार, तेस्रो भएको बुइपाले १ लाख २५ हजार र चौथो भएको पाँचथरले १ लाख पुरस्कार प्राप्त गरेको छ ।
गाईघाट फुटबल क्लबका कप्तान युवराज थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक गाईघाटकै निम छिरिङ लामा घोषित भए । उत्कृष्ट फरवार्ड गाईघाटकै प्रविन राई, उत्कृष्ट प्रशिक्षक गाईघाटका किरण कुमार कार्की घोषित भए ।
त्यस्तै गरी उत्कृष्ट डिफेन्डर बुइपाका रामशुर राई घोषित भए भने उत्कृष्ट मिडफिल्डर देउरालीका विपिन लिम्बू घोषित भए । उनीहरूलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरियो ।
