काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ ।

बंगलादेशले खेलको २४औं मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६औं मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २-० ले अग्रता दोब्बर बनाए ।

सिल्लाहले मध्य भागबाट सिंगल खेल्दै बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो रोजाईका खेलाडीको अनुपस्थितमा एनआरटीलाई बंगलादेशले खेलभरि दबाबमा राखेको थियो ।

खेलको पाँचौँ मिनेटमा एनआरटीका मोहित गुरूङले पेनाल्टी एरियाभित्र पाएको अवसर गुमाए । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । खेलको १६औं मिनेटमा गुरूङ फेरि पेनाल्टी एरियामा चुके ।

खेलको ३८औं मिनेटमा शिशिर लेखीको प्रहार पनि बाहिरियो । खेलको ५२औं मिनेटमा मोहित गुरूङको प्रहार बंगलादेशका गोलकिपर रब्बीले बचाउ गरे । खेलको ४८औं मिनेटमा साकिलले प्रहार गरेको बल दोस्रो बार छेउबाट बाहिरियो । खेलको प्लेयर अफ द म्याच काउर्नका एस सिल्लाह भए । उनले नगद २१ हजार रुपैयाँ र ट्रफी पाए ।

काउर्नका सहायक प्रशिक्षक सोएल रहमानले नेपालको उत्कृष्ट टिम रहेको एनआरटीले खेल्ने तरिकाको बारेमा सामाजिक सञ्जालहरूमा हेरेर आफ्नो खेलाडीहरूलाई मैदानमा उतारेको र पहिलो खेलमै जित दर्ता गर्न सफल भएको बताए । सेमिफाइनलमा पनि रणनीति बनाएर फाइनलसम्म पुग्ने योजना रहेको उनको भनाइ छ ।

एनआरटीका प्रशिक्षक श्याम मालीले अनपेक्षित हारले पहिलो खेलबाटै बाहिरिएकोले टिमको नाममा असर पुगेको बताए । धेरै प्रतियोगिताका कारण पहिलो रोजाईका खेलाडीहरूलाई ल्याउन नसक्दा नतिजा पक्षमा नआएको उनको भनाइ छ ।

प्रतियोगिता अन्तर्गत सोमबारको अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच हुनेछ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *