विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा कोशी प्रदेश खेल महोत्सव – २०८१ आयोजना गर्ने भएको छ ।
आज बोर्डको २६औं बैठक सम्पन्न भई महोत्सवको मिति तथा कार्यक्रम तय गरिएको हो । फागुन १३ देखि १८ गतेसम्म विराटनगरमा विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिने निर्णय बैठकले गरेको छ ।
बैठक कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको थियो । बैठकमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिताहरूलाई महोत्सवकै रूपमा आयोजना गर्ने योजना अनुमोदन गरिएको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी गराए ।
उनका अनुसार महोत्सव सफल बनाउनका लागि सामाजिक विकास मन्त्री पाँचकर्ण राईको नेतृत्वमा ६१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । साथै, खेल प्रतियोगिताहरू व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू समेत गठन गरिएका छन् ।
खेल महोत्सव अन्तर्गत प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेछ । महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराँते, महिला तथा पुरुष तेक्वान्दो, पुरुष सफ्ट टेनिस र डोरीतान (टग अफ वार) खेल महोत्सवका प्रमुख प्रतियोगिताहरू हुनेछन् ।
यो महोत्सवले कोशी प्रदेशका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि तयार पार्ने अवसर प्रदान गर्नेछ । साथै, खेल पर्यटन प्रवर्द्धन गर्दै खेलकुद गतिविधिहरूलाई प्रदेशस्तरीय रूपमा संस्थागत गर्न मद्दत गर्ने लक्ष्य महोत्सवले लिएको छ ।
खेलकुदको माध्यमबाट युवा पुस्तालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै उनीहरूलाई खेलकुद क्षेत्रमा भविष्य निर्माण गर्नका लागि प्रोत्साहित गर्ने उद्देश्य महोत्सवले बोकेको छ ।
कोशी प्रदेश खेल महोत्सव – २०८१ को आयोजनाले खेलाडीहरूलाई मात्र होइन, खेलप्रेमी दर्शकहरूलाई पनि रोमाञ्चक अनुभूति दिने अपेक्षा गरिएको छ । यस महोत्सवले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिइएको छ ।
