पोखरा थन्डर्सले समिर तामाङलाई नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि मार्की खेलाडी बनाएको छ ।
पोखराले मंगलबार समिरलाई मार्की खेलाडीको जिम्मेवारी दिएको हो । नेपाली यु १९ टोलीबाट खेलिसकेका समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेका हुन् ।
समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी बनेका हुन् । समिरले पहिलो पटक मार्की खेलाडी बन्न पाउँदा खुसी लागेको बताएका छन् ।
‘पोखराले मलाई मार्की खेलाडीको जिम्मेवारी दिएको छ । यसमा धेरै खुसी छु,’ समिरलेले भने । उनी पछिल्लो समय ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबाट मोफसलका प्रतियोगिता खेल्दै आइरहेका छन् ।
पोखराले सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षक र आयुष घलानलाई कप्तानको जिम्मेवारी दिइसकेको छ । पोखरा गत सिजन क्वालिफायरसम्म पुगेको थियो ।
