तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र ब्ल्याक बुल्स फुटबल क्लब भिड्ने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ देखि १९ गतेसम्म हुन लागेको प्रतियोगितामा दुई विदेशीसहित ९ क्लब सहभागी हुने छन् ।

पहिलो खेलमा एपिएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई चुनौती प्रस्तुत गर्नेछ । ब्ल्याक बुल्सले २४औं आहा ! रारा पोखरा गोल्डकप जितेको थियो ।

यस्तै, १२ गते भन दुई खेल हुनेछ । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) ले केपी ओली एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबसँगै एएपिएफ, पुलिस, त्रिभुवन आर्मी, एनआरटी र संकटा क्लबले सहभागिता जनाउने छन् । ब्ल्याक बुल्ससँगै भुटानको ट्रस्पोर्ट युनाइटेडले पनि प्रतियोगिता खेल्नेछन् ।

प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइलका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ रूपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउने भएका छन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्लेयर अफ द म्याचले १५ हजार रूपैयाँ पाउने भएका छन् । हरेक खेल जितेबापत पनि टोलीले २५ हजार रूपैया प्राप्त गर्ने युवा संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *