केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेको छ ।

पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले । योसँगै उनले आफ्नो ओडीआई करिअरको ७ हजार रन १ सय ५९ इनिङमा पूरा गरेका छन् । सर्वाधिक छिटो ७ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने । उसर्वाधिक छिटो दक्षिण अफ्रिकाका पूर्व ब्याटर हासिम अमलाले १ सय ५० इनिङमा पूरा गरे ।

ओपनर डेभन कन्वे भने १ सय ७ बलमा ९ चौका र १ छक्कासहित ९७ रनमा रनमा जुनियर डालाको बलमा प्वाइन्टमा क्याच आउट भएपछि शतकबाट तीन रनले चुकेका थिए । दोस्रो विकेटलाई विलियम्सन र कन्वेले १ सय ५५ बलमा १ सय ८७ रनको सानदार साझेदारी गदैै सहज जितको आधार तय गरे ।

पहिलो खेलमा पाकिस्तानविरुद्ध आक्रामक शतक हानेका ग्लेन फिलिप्स २८ रनमा अविजित रहँदा डर्याल मिचेल १० र विल योंग १९ रनमा आउट भए । दक्षिण अफ्रिकाका सेनुरान मथुस्यामीले २, जुनियर डाला र एथान बोचले १-१ विकेट लिए ।

त्यसअघि गद्दाफी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४ रन बनाएको थियो ।

ओपनर म्याथ्यु ब्रिट्ज्कले डेब्यू खेलमै १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको यादगार शतकीय इनिङ खेले पनि बलर नचल्दा दक्षिण अफ्रिकालाई जिताउन सकेनन् ।

कप्तान टेम्बा बभुमा बाहेक दक्षिण अफ्रिकाले यस सिरिजमा दोस्रो रोजाइका खेलाडीलाई मौका दिएको छ । बभुमा २०, जेसन स्मिथ ४१ र वियान मुल्डर ६१ रनमा आउट भए । न्युजिल्यान्डका म्याच हेनरी र विल ओरौरकले २-२ विकेट लिए ।

पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ७८ रनले हराएको थियो । तेस्रो खेलमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच बुधबार खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *