विराटनगर । युवा राष्ट्रको लागि, विराटनगरको आयोजनामा जारी प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगितामा विराटनगर स्पोर्ट्स एकेडेमी फाइनलमा पुगेको छ ।

विराटनगरस्थित जुटमिल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा कोशी पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै विराटनगर उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको थियो ।

खेलको म्यान अफ दि म्याच विराटनगरका गोलरक्षक प्रमिजय गच्छदार घोषित भए । उनले नाङ्लो रेष्टुरेन्ट विराटनगरको तर्फ बाट ५०० रुपैयाँ बराबरको फुड कुपन, जर्सी र मेडल प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बिहिवार हुने दोस्रो सेमिफाइनल खेल शृजनशील युवा क्लब र बेलबारी फुटबल क्लबबीच हुनेछ ।

फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेतालाई नगद ५१ हजार तथा उपविजेतालाई २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको आयोजक समितिलाई गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले १ लाख रुपैयाँ बराबरको बिमा प्रदान गर्ने घोषणा गरेको छ । साथै, इन्स्योरेन्सले प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ५ लाख तथा विजेता टोलीका प्रत्येक खेलाडीलाई १ लाख रुपैयाँ बराबरको बिमा गरिदिने निर्णय गरेको छ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार १ सय, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सार्वधिक गोलकर्तालाई जनही नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजक युवा राष्ट्रको लागिका अध्यक्ष सक्रिय गौतमले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *